प्रचण्डले गरे अहिले सम्मकै बोल्ड निर्णय,विख्यात चिनियाँ परियोजना ‘वान बेल्ट वान रोड’मा नेपालले हस्ताक्षर गर्नेकाठमाडौं – सरकारले वान बेल्ट वान रोड (ओबीओआर)मा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै चीनको बेइजिङमा हुने ‘वान बेल्ट वान रोड (ओबीओआर)’ परियोजना सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको हो।

नेपालले सम्मेलनअगावै परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहाल गत महिना चीन भ्रमणका क्रममा ओबीओआरको सहमतिमा हस्ताक्षर गरी सम्मेलनमा सहभागी हुने चिनियाँ राष्ट्रपतिसहितका नेताहरूलाई प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा ओबीओआरमा प्रतिबद्धता जनाएपछि मात्र राष्ट्रपति सीसँग भेट तय भएको थियो। प्रधानमन्त्री दाहालले आफूले गरेको प्रतिबद्धताअनुरूप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री महरालाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी चीन जान भनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।