काठमाडौं, जेठ ५– पहिलो चरणमा तीन प्रदेशअन्तर्गतका ३४ जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन गर्न प्रधानमन्त्री प्रचण्डले दलहरुबीच सहमति जुटाउन खोजेका छन् ।
दोस्रो चरणमा मधेसका जिल्लाहरुमा निर्वाचन हुने भएकाले मधेसको सहमति हुनैपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले सहमतिको पहल स्वरुप शुक्रबार बेलुका मधेसी मोर्चासहित प्रमुख सात दलको बैठक बालुवाटारमा डाके ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनता पार्टी, नेपाल लोकतान्त्रिक फोरम, र संघीय समाजवादी फोरमका शीर्ष नेताहरु उपस्थित भए । एमालेका भने दोस्राे तहका नेता सहभागी थिए ।
वैठकमा प्रधानमन्त्री प्रचण्डले तराई–मधेशमा स्थानीय तहको संख्या थप, सरकारद्घारा संसदमा पेश गरेको संविधान संशोधन विधेयक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन, बजेट लगायतका विषयमा प्याकेजमै सहमतिको प्रस्ताव गरे ।
दोस्रो चरणको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनको प्रक्रियालाई पूर्णतामा लैजान राष्ट्रिय सहमति आवश्यक रहेकोमा जोड दिँदै प्रधानमन्त्रीले दोस्रो चरणको निर्वाचन, तराई–मधेशमा स्थानीय तहको संख्या थप, संविधान संशोधन विधेयक र बजेटबारे सहमति जुटाएर अघि बढ्न दलहरुलाई आग्रह गरे ।
दलीय सहमतिले नै पहिलो चरणको निर्वाचन सम्पन्न भएको भन्दै प्रधानमन्त्रीले निर्वाचनमा सहभागी दलहरुलाई धन्यवाद पनि दिए । र, आगामी दिनमा पनि सहमतिमा अघि बढ्नुको विकल्प नभएको बताए ।
उनले दोस्रो चरणको निर्वाचनको सहज वातावरणका लागि राजनीतिक दलहरुको एकता र सहकार्य आवश्यक भएकोमा पटक पटक जोड दिए । प्रधानमन्त्रीको प्रस्तावमा प्रमुृख विपक्षी दल एमाले र मधेस केन्द्रित दलका नेताहरुले धारणा राखेका थिए । राजनीतिक सहमतिबाटै निष्कर्षमा पुग्नुपर्नेमा सबैको जोड थियो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाहेक अन्य मधेसवादी दलले पहिलो चरणको निर्वाचनमा भाग लिएनन् । उनीहरुले संविधान संशोधन विधेयक पारित नभए दोस्रो चरणको निर्वाचनमा पनि भाग नलिने बताएका छन् । शुक्रबारको बैठकमा पनि राष्ट्रिय जनता पार्टीका नेताहरुले संशोधन विधेयक पहिले पारित गरेर मात्रै दोस्रो चरणको निर्वाचन गर्न सुझाव दिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधान एवं स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ, भीम रावल, कांग्रेस नेता रामचन्द्र पौडेल, माओवादी नेता नारायणकाजी श्रेष्ठ, राप्रपा नेताहरु बिक्रम पाण्डे, सुनीलबहादुर थापा, राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, संघीय समाजवादी फोरमका नेता अशोककुमार राई लगायत शीर्ष नेताहरु सहभागी थिए ।