दोलखाको जफेमा एमाले कार्यकर्तामाथि आक्रमण गरी कांग्रेसले बुथ कब्जा गर्यो
दोलखा, ३१ वैशाख । दोलखास्थित तामाकोशी गाउँपालिकाको भन्नेचौरको मतदान केन्द्र तनावग्रस्त बनेको छ । दालखोकै जफेमा कांग्रेसले तीन वटा बुथ कब्जा गरेको छ । भाला, खुकुरी र खँुडा लिएर एमाले कार्यकर्तालाई लखेट्न थालेपछि एमालेका प्रमुखका उम्मेदवार ईश्वरचन्द्र पोखरेलसहितको टोली मतदान केन्द्रबाट भागेका छन् । साविकको झुले गाविसमा जम्मा भएका दुई सयको संख्याका एमाले कार्यकर्तालाई मतदानस्थलमा जान दिइएको छैन ।
कांग्रेस कार्यकर्ताले मतदान केन्द्र पूरै घेरेका छन् । एमालेविरुद्ध ढुंगामुढा भइरहेको छ । सेना र प्रहरीको छेउमा बसेर कांग्रेसका कार्यकर्ताले एमाले कार्यकर्तामाथि ढुंगा वर्षार्इरहेका छन् । त्यहाँबाट एक एमाले कार्यकर्ताले आफुहरुलाई खुकुरी तेस्र्याए पनि सुरक्षाकर्मीहरु मूकदर्शक भएर बसेका बताए। सुरक्षाकर्मी नै कांग्रेसलाई भोट हाल्ने हो भने भित्र जानुस्, नभए फर्कनुस् भन्दै मतदाताहरुलाई फर्काईरहेका छन् । एमालेका कार्यकर्ता र सूर्यमा मत हाल्ने मतदाताहरु मतदान केन्द्र भन्दा १५ मिनेट टाढा माथि रोकिएका छन्। त्यहाँ मान्छेलाई आतंकित बनाइएको छ । तल मतदान केन्द्रसम्म जाने स्थिति छैन । एमाले बाहुल्य तीन वटा वडाका ६ सयभन्दा बढी मान्छेलाई तल मतदान केन्द्रमा जानै दिइएको छैन । घाइते एमाले कार्यकर्ताको जिल्ला स्वास्थ्य चौकी, दोलखा, झुलेमा उपचार भइरहेको छ । तीन जना गम्भीर घाइते छन् । टाउकोमा चोट लागेको छ भने धेरैको खुट्टा भाँचिएको छ ।