काठमाडौं, १८ बैशाख– प्रधानमन्त्री निवास वालुवाटारका सुरक्षाकर्मीलाई दिउसै विदा दिएर आइतवार राती सत्तारुढ कांग्रेस, माओवादी, मधेसी मोर्चा र भारतीय खुफिया एजेन्सीका प्रतिनिधिबीच गोप्य वार्ता भएको छ । सत्तारुढ दल, मधेसी मोर्चा र भारतीय प्रतिनिधिबीच रणनैतिक गोप्य वार्ता तय भएपछि सुरक्षाका मुख्य अधिकारीहरुलाई विदा दिएर कनिष्ठ र नयाँलाई मात्रै ड्युटीमा खटाइएको थियो ।
रणनीतिक वार्तामा सहभागिहरुलाई नचिनुन् भनी पुराना र उच्च तहका अधिकृतहरुलाई दिउसैदेखि छुट्टीमा पठाइएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध कांग्रेस–माओवादी गठबन्धनले संसदमा महाअभियोग दर्ता गराएपछिको अवस्थाका विषयमा सघन छलफल गर्न सुरक्षा कर्मीलाई विदा दिइएको हो ।
‘भेटघाटको धेरै फ्लो हुँदैन त्यसैले ड्युटीमा नबसे पनि हुन्छ भन्ने आदेश थियो’ नाम नवताउने सर्तमा प्रधानमन्त्री निवासको सुरक्षामा खटिएका एक अधिकृतले भने, ‘त्यसैले हामी दिउसैदेखि छुट्टिमा बस्यौं, बेलुका को आयो को गयो थाहा भएन ।’
घोषित स्थानीय तहको निर्वाचनमा लाग्नुपर्ने बेलामा त्यसलाई बिथोल्दै अकस्मात ‘न्यायमूर्ति’ कार्कीबिरुद्ध बिभिन्न फतुर लगाउँदै महाअभियोग दर्ता गरेपछि नेपाली जनदबाबको सामना कसरी गर्ने भन्ने बारेमा तीन पक्षबीच वार्ता भएका हुन् ।
उच्च सुरक्षा स्रोतका अनुसार, प्रधानमन्त्री दाहाललाई भारतीय दूतावासका खुफिया अधिकारीले आइतबार मध्यरातमा प्रम निवास बालुवाटारमै गएर भेटेका थिए । भेटवार्ताको गोप्यता कायम राख्ने भन्दै प्रधानमन्त्री कार्यालयका केही सुरक्षा अधिकृतलाई आइतबार साँझमै बिदा दिइएको थियो । प्रधानमन्त्री कार्यालयमा आइतबार राती अवेरसम्म तीन पक्षका बिभिन्न तहका व्यक्तिहरुको आउने जाने क्रम रहेको सुरक्षा स्रोत बताउँछ ।
गतवर्ष भारतीय नाकाबन्दीको दृढतापूर्वक सामना गर्दै नेपाललाई आत्मनिर्भरताको बाटोमा हिंडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई ढाल्न भारतले पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई प्रयोग गरेको थियो । भारतीय एजेण्डा अनुरुप नै दाहाल सरकारले आफ्ना गतिविधि गरिरहेको सुरक्षा अधिकारीको विश्लेषण छ ।
भारतको इसारामा संविधानको दोस्रो संसोधन गर्न ल्याइएको प्रस्ताव संसदको दुईतिहाईबाट पारित हुने संभावना नभएपछि रन्थनिएका शेरबहादुर देउवा र पुष्पकमल दाहाल न्यायको कत्लेआम गर्न पुगेका हुन् । निर्वाचन नगरी नेपाललाई नियन्त्रित अस्थिरतामा राख्ने योजना अनुसार नै गठबन्धनले यो कदम चालेको निश्कर्षमा पुग्न सकिन्छ ।
यसैबीच थप रणनीति तय गर्न भारतीय राजदूत मञ्जिवसिंह पुरीले सोमबार दिउसो प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र मधेसी मोर्चाका नेताहरुसँग छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् । हिजो अवेरसम्म वालुवाटारमा गरिएका छलफलपछि दिल्लीबाट प्राप्त हुने सुझावलाई त्यहाँ पुरीले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
प्रधानन्यायाधीश बिरुद्धको महाअभियोगबारे महन्थ ठाकुर नेतृत्वको राजपा लगायत कुनै पनि मधेशी दलले केही पनि बोलेका छैनन् । उनीहरुले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग बेग्लाबेग्लै र टेफिोफोनमा बार्ता गरे पनि निर्णय भने मंगलबार मात्र गर्ने बुझिएको छ । मधेशका ६ पार्टीमिलेर बनेको राजपाले मंगलबार अमृतभोग पार्टी प्यालेसमा मोर्चाको बैठक गर्दैछ । उक्त बैठकअघि राजपाले भारतीय राजदूत मन्जिभसिंह पुरीसँग लैनचौरमा नै सामुहिक भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । राजदूत पुरीको सल्लाहपछि मात्र राजपाले निर्णय गर्ने भएको छ ।
उता, भारतीय राजदूत पुरीले प्रधानमन्त्री दाहालसँग सोमबार भेटेर महाअभियोग, निर्वाचन र सत्ता गठबन्धन लगायतका बिषयमा लैनचौरका औपचारिक प्रस्ताव त्यहाँ बुझाउनेछन् । ओली सरकारलाई हटाएर भारतीय सहयोगमा निर्माण गरिएको दाहाल सरकारले महत्वपूर्ण घरेलु निर्णयमा भारतको सहयोग लिंदै आएको छ । चक्रपथ डटकम बाट