
जुम्ला : गाउँमा निर्वाचनका लागि प्रचारप्रसार कार्य तीव्र भइरहेका बेला जुम्ला छुमचौरका युवा भने बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न पाटनतिर लागेका छन् । यार्सा टिप्ने सिजन सुरु भएकाले युवा स्थानीय तहको निर्वाचनमा मतदान नगरी कमाउन पाटनतिर लागेका हुन् ।
दुई दसकपछि हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अधिकांश युवा प्रचार प्रसारका साथै नेतृत्वका लागि खटिएका छन् । तर छुमचौरका युवा भने निर्वाचनभन्दा पनि कमाउन जरुरी रहेको भन्दै यार्सा टिप्न पाटन छिरेका छन् । कर्णालीको डोल्पा, मुगु, जुम्ला र हुम्लाको हिमाली भेगमा पाइने यार्साको सिजन वैशाखदेखि असारसम्म भएका कारण युवा धमाधम पाटनतिर लागेका छन् । तीन महिनाको कमाइले घरपरिवारलाई वर्षभरिलाई खानपानको जोहो गर्नुपर्ने भएकाले मुखैमा आएको निर्वाचनलाई छाडेर पाटन जान लागेको पाटारासी गाउँपालिका छुमचौरका युवा शनि रावतले बताउनुभयो ।
‘देशमा जति निर्वाचन भए पनि हामीलाई केही दिने होइनन्,’ रावतले भन्नुभयो, ‘यदि लेकमा गएर यार्सा टिपेन भने हामीले वर्षभरि के खाने ? चुनावले रोजीरोटी दिने होइन ।’ युवा ऋण गरेरै पाटनतिर छिरेका छन् । एकपटकका लागि यार्सा टिप्न जाँदा ५० हजारभन्दा बढी ऋण लिएर गएको युवाले बताए । देशमा रोजगारी नभएकाले यार्सा पाइने सिजनमा पाटन नगए आफूहरूको रोजीरोटी नै बन्द हुने अर्का युवा चन्द्र रावतले बताउनुभयो । घरमा कमाउने अर्को कोही नभएकाले बालबच्चा पढाउनुका साथै अन्य खर्च जुटाउन जोखिम मोलेरै पाटन जानुपरेको रामसिंहको भनाइ छ ।
देशमा जति निर्वाचन भए पनि हामीलाई केही दिने होइनन् । लेक गएर यार्सा टिपेनौं भने हामीले वर्षभरि के खाने ? चुनावले रोजीरोटी दिने होइन ।
शनि रावत जुम्ला छुमचौरका बासिन्दा
मुगुको छपुखोला, जुम्लाको पानसय, माझपाटन, हाँक, डोल्पाको पाटनमा यार्सा टिप्न कर्णालीलगायत अन्य जिल्लाबाट समेत युवा हिँडेका छन् । दुई महिनाको दुःखले वर्षभरिको घरखर्च चलाउनुपर्ने भएकाले यसपटक निर्वाचनलाई छाडेर पनि युवा यार्सा टिप्न हिँडेका छन् । बालबच्चा पाल्नकै लागि पाटन जाने युवा मात्रै हाइन, युवतीसमेत यार्सा टिप्न पाटन छिरेका छन् । अहिले नभएपछि पछि नपाइने भएकाले निर्वाचनलाई छाडेर हिँडेको पातारासीका युवा हिक्मत रावतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वानचनमा भोट हालेर के गर्नु, हामीलाई वर्षभरि खान पुग्ने पैसा दिन्छन् र ? ‘
विगत निर्वाचनमा नेता चुनेर पठाए पनि हालसम्म विकासका नाममा केही दिन नसकेकाले मतदान गर्न आवश्यक नभएको उनीहरूको ठहर छ । भोट हालेर नेता बनाए पनि युवालाई रोजगारीका अवसर दिन नसकेकाले आफूहरू निर्वाचनभन्दा पनि यार्सालाई महत्वव दिई पाटनतिर गएको रावतले बताउनुभयो । यस्तै, यार्सा टिप्न जाने टालीमा युवती पनि सामेल भएका छन् । कक्षा ५ मा अध्ययन गर्दै गरेकी १४ वर्षीया प्रविना रावत पनि कमाउन पाटनतिर छिरेकी छन् । घरमा कमाउने अर्को मान्छे नभएपछि पढाइ छाडेर यार्सा टिप्न जानुपरेको प्रविनाको भनाइ छ ।
कर्णालीका अधिकांश युवाको कमाइ भनेको हिउँदमा भारत जाने र वैशाखदेखि असारसम्म पाटनमा यार्सा टिप्न जाने नै हो । चुनावका लागि भारतबाट आएका युवासमेत यार्साको सिजन भएकाले पाटनमा छिरेका छन् । भारतमा कमाइ गरेर भोट हाल्न घर फर्किएका बुम्रमाडीचौरका हरि बुढा निर्वाचनलाई छाडेर पाटनतिर छिरेका छन् । उनका अनुसार जुम्लाका पाटनमा जनुसुकै बेला यार्सा टिप्न छिरे पनि मुगु र डोल्पाका पाटनमा भने निश्चित समयावधिका लागि मात्र खुल्ने गर्छ ।