चुनाव हार्ने भएपछि सत्तापक्ष हिंसामा उत्रियो,कांग्रेस माओवादी कार्यकर्ता राइफल सहित पक्राउ
काठमाडौं । मतदानको पूर्वसन्ध्यामा सत्ताधारी पार्टी कांग्रेस र माओवादीका कार्यकर्ता हतियार सहित हिंसात्मक आक्रमणमा उत्रिन थालेका छन् । चुनाव हार्ने देखिएपछि सत्तापक्ष हिंसामा उत्रिएको हो । भोजपुरमा एमाले कार्यकर्ता शारदा तामाङमाथि माओवादी कार्यकर्ताले गोली प्रहार गरे लगत्तै म्याग्दी र धादिङमा कांग्रेसका कार्यकर्ता हतियार र पैसा सहित पक्राउ परेका छन् ।
धादिङमा कांग्रेसका गाउँपालिका प्रमुख उम्मेदवार रणवहादुर तामाङका छोरा युलछिरिङ तामाङ र उनका साथी जयवहादुर तामाङलाई प्रहरीले हतियार र पैसा सहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले खनियावास ५,सत्यदेवी मतदान केन्द्र परिसरबाट ४४ हजार नगद र बन्दूक सहित पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको बा ७७ प १८६२ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ । यसैबीच म्याग्दीको बेनी नगरपालिकास्थित नेप्टेचौरबाट कांग्रेस कार्यकर्तालाई दुई थान टुटु राईफल सहित पक्राउ गरिएको छ ।
हतियार लिएर एमाले कार्यकर्तामाथि आक्रमण गर्न गएका कांग्रेस कार्यकर्ता रवी कार्की भने फरार भएका छन् । राइफलको लाइसेन्स उनको नाममा रहेको प्रहरीले जनाएको छ । काभ्रेमा माओवादी आत्तिए काभ्रेको बेथाञ्चोक गाउँपालिकाका नेकपा एमालेका उपाध्यक्ष पदका उम्मेदवार उन्नती केसीको घरबाट निस्कँदै गर्दा शुक्रबार राति एमालेका कार्यकर्ता हर्क तामाङमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले हतियार सहित आक्रमण गर्दा गम्भिर घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको छ ।
वाईसिएल कार्यकर्ताहरु १५ जनाको समुहमा आएका थिए । केहिलाई प्रहरीले पक्राउ गरेको छ । केहि फरार छन् । वाईसिएल कार्यकर्ता मर्दन तामाङ, झलक तामाङ सहितले एक्कासी हर्कलाई घरेलु हतियार निकालेर आक्रमण गरेका थिए ।
उनीहरु मोटरसाईकलमा आएका थिए । हर्क तामाङ सहित एमालेका कार्यकर्ताहरु उपाध्यक्ष उन्नती केसीको घरमा सल्लाह गरी निस्कँदै गर्दा वाईसिएल कार्यकर्ताहरुले आक्रमण गरेका थिए । प्रहरीले आक्रमण गरी फरार भएका वाईसिएल कार्यकर्ताहरुलाई गोल्माकोटबाट पक्राउ गरेको हो । केहि मोटरसाईकल सहित फरार छन् । बेथाञ्चोक ५ भंगाला मदनबासमा उक्त घटना भएको हो ।