दमक – दमकको दक्षिणी क्षेत्रमा स्थापना हुने भनिएको ‘दमक क्लिन ग्रीन’ औद्योगीक पार्क स्थापनाको बाटो खुलेको भन्दै व्यवसायीहरु उत्साहि बनेका छन् । केहि दिन अघि अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणको समयमा यस सम्बन्धि पछिल्लो सम्झौतामा हस्ताक्षर भए पछि निर्माणको बाटो खुलेको हो ।
चीन सरकारले अघि सारेको बहुचर्चित ‘वान बेल्ट वान रोड’ (ओबर) अन्तर्गत पार्क निर्माण हुने दमक नगरपालिकाले जनाएको छ । दुई देशको साझेदारीमा औद्योगीक पार्क भएमा यसले पूर्वी नेपालमानै व्यवसायीक गतिविधी बढ्नै व्यवसायीको आशा छ । यस्तै दमक नगरपालिकाले समेत यो योजना झापाका लागि मात्र नभई देशकै लागि महत्वपूर्ण रहेको जनाएको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले ‘दमक क्लिन ग्रीन’ औद्योगीक पार्क निर्माणको आधार तयार भएको र यसमा सवैले सहयोग गर्नु पर्ने बताउनुभयो ।
पार्कमा इलेक्ट्रोनिक, अटो मोबाइल्स, गार्मेन्ट, खाद्यान्नलगायत अन्तर्राष्ट्रिय मापदण्डका ९० उद्योग स्थापना हुने र करिव ३ अर्व चीनीया लगानी रहने जनाईएको छ । यसले करिव १ लाख जनालाई रोजगारीको अवसर दिने भन्दै दमक उद्योग वाणिज्य संघका अध्यक्ष्य राजेन्द्र ढकालले यो योजना नेपाली उद्योगी व्यवसायीहरुका लागि खुसीको कुरा भएको प्रतिक्रिया दिनुभयो ।
दमकको उत्तरी क्षेत्रमा संसारकै अग्लो बुद्धमूर्ती र दक्षिणी क्षेत्रमा औद्योगीक पार्क निर्माण बारे झापा क्षेत्र नंं ७ का सांसद समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७२ चैत–१ गते मन्त्रीपरिषदले निर्णय गरेको थियो । यस्तै गत चैतमा तत्कालिन प्रधानमन्त्री ओलीको उपस्थितीमा दमक क्लिन इण्डष्ट्रियल पार्कका सल्लाहकार भाष्करराज राजकर्णीकार र चीनको ग्लोबल एनजिओ युनियनका कार्यकारी अध्यक्षबीच दमकमा सो औद्योगिक स्थल निमार्णसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सो समझदारी भने हालैको अर्थमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणका क्रममा उहाकै उपस्थितीमा औद्योगीक क्षेत्र विकास लिमिटेडका कार्यकारी निर्देशक एन के बस्नेतले चीनीया पक्षसँग हस्ताक्षर गरे पछि ‘वान बेल्ट वान रोड’ परियोजनामा समावेश भएको जनाईएको छ । श्रोत हाम्रो दमक डटकम बाट