भक्तपुरमा ओलीले भोट हालेपछि भने–सत्तापक्षले विभिन्न स्थानमा बल प्रयोग गर्यो
भक्तपुर, ३१ बैशाख । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा दोलखालगायतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेको आरोप लगाएका छन् । सूर्यविनायक नगरपालिकाको बालकोटमा मध्यान्ह मतदान गरेका ओलीले मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखालगायतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताए ।
मतदानपछि उनले भने– दोलखालगायत केही स्थानमा उनीहरुले बल प्रयोग गरेका छन्,छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण र उत्सापूर्ण ढंगले भइरहेको खबर हामीले पाएका छौं । ती बल प्रयोग र बुथ कब्जा गरिएका ठाउँको सन्दर्भमा हामीले निर्वाचन आयोगसँग कुराकानी गरिरहेका छौं ।
दोस्रो चरणको चुनावका सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भने ओलीले केही बोल्न चाहेनन् । उनले यतिमात्रै भने–केही ठाउँमा छिटपुट घटना भएका छन् । यस विषयमा कुराकानी भएको छ हामीले गम्भीर रुपमा लिएका छौं । सत्तापक्षले बल प्रयोग गरेको छ । दोस्रो चरणका बारेमा पछि कुरा गरौंला ।