
५ जेठ, काठमाडौं । काठमाडौं जिल्लामा एक महानगरपालिका र १० नगरपालिकासहित ११ वटा स्थानीय तह छन् । जिल्लाका यी सबै तहमा भएको निर्वाचनको प्रारम्भिक नजिता हेर्दा सत्तारुढ माओवादी केन्द्र ‘क्लिन स्वीप’ हुने देखिएको छ ।
मतगणना भइरहेका काठमाडौंका कुनै पनि नगरपालिकामा माओवादी दोस्रो स्थानमा समेत छैन । माओवादी पार्टीबाट महानगरपालिकाका मेयरका उम्मेदार सर्वोत्तम डंगोलले यसअघि नै हार स्वीकार गरिसकेका छन् ।
लोडसेडिङको अन्त्य गरेर राजधानीबासीलाई उज्यालो उपहार दिएको माओवादीलाई काठमाडौंबासीले किन रुचाएनन् ? यो प्रश्न माओवादीभित्रै पनि उठेको छ ।
माओवादीका उम्मेदवारहरुले काठमाडौं महानगर र अन्य नगरपालिकाहरुमा कतै पनि ३ हजार मतसमेत कटाउन सकेको देखिँदैन ।
काठमाडौंमा ०६४ सालको निर्वाचनमा माधव नेपाल जस्ता नेतालाई हराउने माओवादी अहिले त्यही क्षेत्रका नगरपालिका र महानगरका वडामा जमानत जोगाउन नसक्ने अवस्थामा पुगेको छ । माओवादीले जित्ने आँकलन गरेका तारकेश्वर, टोखा, शंखरापुर, बूढानीलकण्ठ जस्ता नगरपालिकामा तेस्रो स्थानमा पनि अत्यन्त कम मतमा सीमित भएको छ ।
एमालेको कमब्याक
अहिलेसम्मको मतपरिणाम र अग्रताका हिसाबले काठमाडौंमा एमालेलाई धेरै नाफा भएको छ । ०६४ सालको निर्वाचनमा शून्य सीटमा सीमित भएको एमाले ०७० को संविधानसभा चुनावमा आउँदा १० मध्ये २ सीटमा उक्लिएको थियो । तर, यसपटक एमालेको राम्रो ‘कमब्याक’ भएको छ ।
अहिलेसम्म मतगणना सम्पन्न भएका शंखरापुर र टोखामा एमालेले जीत हासिल गरेको छ । शंखरापुरमा सुवर्ण श्रेष्ठ र टोखामा प्रकाश अधिकारीको प्यानल विजयी भएको छ ।
हाल गणना भइरहेकामध्ये बूढानीलकण्ठ र तारकेश्वर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।
विसं. ०४८ देखि ०५६ सम्मको निर्वाचनमा काठमाडौंमा एकलौटी बर्चश्व कायम गरेको एमालेले ०६४ पछि काठमाडौं गुमाएको थियो । ठीक १० वर्षपछि एमालेले गुमेको काठमाडौं फिर्ता गर्ने गरी कमब्याकको संकेत दिएको छ ।
एमालेलाई गत संविधानसभा निर्वाचनमा पहिलो पार्टी हुनबाट रोक्ने काठमाडौं उपत्यका नै थियो । उपत्यकाका १५ सिटमध्ये कांग्रेसले १२ सीट जित्दा एमाले २ सीटमा सीमित भएको थियो । यसपटक क्षतिपूर्ति लिने ढंगले एमाले अघि बढेको छ ।
कांग्रेसलाई क्षति
परिणामका हिसाबले नेपाली कांग्रेसले काठमाडौं जिल्लामा घाटा व्यहोरेको छ । महानगरपालिकामा कांग्रेस शुरुदेखि नै एमालेभन्दा निकै पछि परिरहेको छ ।
महानगरको गणनामा कहिले दोस्रो र कहिले तेस्रो स्थानमा रहेको कांग्रेसले काँठका नगरपालिकाबाट क्षतिपूर्ति लिने अपेक्षा थियो । तर, अहिलेसम्मको मतगणनाको अवस्था हेर्दा कांग्रेसले काठमाडौं जिल्लाका १० मध्ये बढीमा ५ नगरपालिका अर्थात एमालेसँग बराबरीमा चित्त बुझाउनुपर्ने देखिएको छ ।
कांग्रेसले हालसम्म दक्षिणकाली, नागार्जुन र गोकर्णेश्वर नगरपालिका जितेको छ । नागार्जुनमा पनि उपमेयर एमालेले नै जितेको छ भने बहुमत वडाध्यक्ष एमालेकै छन् ।
राप्रपालाई धक्का
गत संविधानसभा निर्वाचनमा समानुपातिक मत तर्फ पहिलो बनेको राप्रपा काठमाडौंका कुनै पनि तहमा प्रतिस्पर्धामा आउन सकेन । महानगर बाहिरका नगरपालिकामा २ वडाध्यक्ष बाहेक राप्रपाले काठमाडौं जिल्लामा आफ्नो उपस्थिति देखाउन सकेको छैन ।
काठमाडौं महानगरपालिकामा एमालेसँग तालमेल गरेर उपमेयर पाएको राप्रपाले त्यहाँ पनि एमालेको मत पाउन सकेको देखिँदैन ।
काठमाडौंको चुनावी रुझान हेर्दा यसपटक एमालेले आफ्नो बिरासत फर्काउने देखिन्छ ।
काठमाडौंको समग्र चुनावी परिणाम नआउने माओवादी र राप्रपाका लागि निराशाजनक अवस्था देखिएको छ । राप्रपाले अझै पनि काठमाडौंको उपमेयरको झिनो आशा जीवित राखिरहँदा माओवादीको झोला भने रित्तिएको छ ।