जेठ २ – युट्युबमा खाना बनाउने तरिकाबारे जानकारी दिने १ सय ६ वर्षीया वृद्धाले इन्टरनेटमा सनसनी मच्चाएकी छिन् ।
आन्द्र प्रदेशकी मस्तानम्मा युट्युबमा खाना बनाउने तरिका सिकाएर निकै चर्चित बनेकी छिन् । ‘कन्ट्रि फूड’ नामक आफ्नै युट्युब च्यानल चलाउने उनी संसारको सबैभन्दा वृद्धा युट्युबर बनेकी छिन् ।

१ सय ६ वर्ष पुगेकी मस्तानाम्माको अहिलेसम्म ३ लाख सब्सक्राइबर छन् । पारम्परिक खाना बनाउने उनको तरिकाले सबैको ध्यान आकर्षित गरेको छ ।
उनको युट्युब च्यानल उनका जेठो नाती के लक्ष्मणले चलाउने गर्दछन् जो आफ्ना हजुरआमाले बनाएको खानाका पारखी हुन् ।
‘एक दिन हामी निकै भोकाएका थियौं र म र मेरा साथीहरु मिलेर खाना बनाउने क्रममा त्यसको भिडियो बनाएर युट्युब च्यानलमा हाल्ने सोच बनायौं । आश्चर्यजनक रुपमा हाम्रो पहिलो भिडियो भाइरल भयो । त्यतिबेला देखि नै मैले मेरो युट्युब च्यानल चलाउने सोच बनाएँ, हजुरआमासँग मिलेर,’ लक्ष्मणले भने ।