काठमाडौं, जेठ ३– एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा प्राप्त मतपरिणामलाई ‘सन्तोषजनक’ भनि टिप्पणी गरेका छन् ।
स्थानीय तहको निर्वाचन सम्पन्न भएयता औपचारिक कार्यक्रममा नदेखिएका ओलीले आज भने पार्टी निकटको एक कार्यक्रममा सहभागि हुँदै निर्वाचन परिणाम सन्तोषजक भएको बताएका हुन् । उनले एमालेलाई जनताले विश्वास गरेको भन्दै आगामी राष्ट्रिय चुनावमा बहुमत ल्याउने समेत दाबी गरे ।
‘स्थानीय तहको निर्वाचनमा एमालेले प्राप्त गरेको निर्वाचन परिणाम सन्तोषजनक छ’, ओलीले भने, ‘ राष्ट्रिय चुनावमा एमालेले बहुमत ल्याएर देखाउँछ ।’
आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ । जसमा एमालेले अहिलेसम्म ३० स्थानमा जित हात पार्दै पहिलो स्थानमा देखिएको छ ।
उनले कांग्रेसले ल्याएको चुनावी नतिजाप्रति समेत कटाक्ष गर्न भ्याए । कांग्रेसको जनाधार खस्किसकेको दाबी गर्दै उनले त्यसो हुँदा पनि अहिले ल्याएको मतले आफूलाई आश्चर्य लागेको उनले बताए । ‘हदैसम्म तल झरेको कांग्रेसले यति धेरै मत ल्याउनु नै आश्चर्यजनक छ । एमालेसँग प्रतिश्पर्धा हुनुनै आश्चर्यजनक छ ।’
उनले एमाले राष्ट्रवादी पार्टी भएको र जनताले यसैगरी बुझेकाको दाबी गर्दै भने, ‘ यो देशको विकास गर्ने पार्टी एमाले नै हो । अरुबाट विकास सम्भव छैन ।’
उनले एमालेलाई चुनावमा असफल बनाउन सत्तापक्षनै लागेको आरोप लगाउँदै भने, ‘सत्ता संरक्षित गुण्डा प्रयोग गरियो । हाम्रा कार्यकर्ता मारियो । सत्तापक्षले शान्ति स्थापना गर्नुको साटो गुण्डागर्दीमा लाग्यो ।’
उनले अझैं पनि देशको कयौं स्थानीय तहमा पार्टीको प्रभाव बढाउन आश्यक रहेको भन्दै कमीकमजोरी औंल्याउँदै आगामी दिनमा अघि बढ्ने र राष्ट्रिय चुनावमा जित हात पारेरै छाड्ने बताए ।