३ जेठ, काठमाडौं । काठमाडौं जिल्लाका ११ स्थानीय तहमध्ये नेपाली कांग्रेसले धेरै वटा नगरपालिकामा अग्रता हासिल गरेको छ । महानगरपालिका बाहेक काठमाडौं जिल्लामा १० वटा नगरपालिका छन् ।
काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ । बाँकी १० नगरपालिकामध्ये ६ वटामा कांग्रेसले अग्रता लिएको छ भने ४ वटामा एमालेले अग्रता लिएको छ ।
काठमाडौंका १० वटै नगरपालिकाको मतगणना महानगरमा जस्तै अत्यन्तै सुस्त गतिमा भइरहेको छ ।
६ वटा नगरपालिकामा कांग्रेसको अग्रता
हालसम्मको गणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेका नगरपालिका यी हुन्:
१. कागेश्वरी मनहरा नगरपालिका
२. टोखा नगरपालिका
३. तारकेश्वर नगरपालिका
४. नागार्जुन नगरपालिका
५. चन्द्रागिरी नगरपालिका
६.गोकर्णेश्वर नगरपालिका
पछिल्लो गणना अनुसार तारेश्वर नगरपालिकामा कांग्रेसले १७८८ मतले अग्रता लिइरहँदा एमालेले १३८९ मतका साथ पछ्याइरहेको छ ।
त्यस्तै, टोखा कांग्रेसका मेयर उम्मेवार हरिहर अधिकारीले ४३०८ मतका साथ अग्रता लिइरहँदा एमालेका प्रकाश अधिकारी ४०३४ मतका साथ पछ्याइरहेका छन् । टोखाका ५ वटा वडाको मतगणना सकिएकोमा हालसम्म एमालेले ३ वटामा जितेको छ भने २ वटामा कांग्रेसले जितेको छ ।
त्यस्तै कागेश्वरी मनहरामा पनि कांग्रेसले १०८६ मतले अग्रता लिइरहँदा एमालेको ९७८ मत छ ।
चन्द्रागिरी नगरपालिकामा पनि कांग्रेसले ४ हजार ६ सय मतको अग्रता लिएको छ । गोकर्णेश्वरमा कांग्रेसले २७७२ मतका साथ अग्रता लिइरहेको छ भने एमालेले १९५९ मतका साथ पछ्याइरहेको छ ।
पछिल्लो पटक काठमाडौंको नागार्जुन नगरपालिकामा कांग्रेसले १५२० मतको अग्रता लिँदा एमालका उम्मेदवारले १४५८ मत पाएका छन् ।
चार नगरपालिकामा एमालेको अग्रता
एमालेले अग्रता लिएका ४ वटा नगरपालिका यी हुन्ः
१. कीर्तिपुर नगरपालिका
२. बूढानीलकण्ठ नगरपालिका
३. दक्षिणकाली नगरपालिका
४. शंखरापुर नगरपालिका
शंखरापुर नगरपालिकामा एमालेले ३३८४ मतका साथ अग्रता लिइरहेको छ । दोस्रोमा माओवादी केन्द्रका उम्मेमदवारले ३ हजार मत पाएका छन् ।
यसैबीच बुढानीलकण्ठ नगरपालिकाको मतगणना मंगलवार साँझदेखि नै अवरुद्ध भएको छ । ११ नम्बर वडाको मतगणनामा भइरहँदा खसेको मतभन्दा बढी ७ वटा मतपत्र भेटिएको भन्दै कांग्रेसले गणनामा अवरोध सिर्जना गरेको एमालेको आरोप छ । पुनः मतगणनाका लागि अहिले सर्वदलीय बैठक बस्न लागेको छ ।
कीर्तिपुरमा पनि विवादका कारण स्थगित भएको गणना सुरु भएको छ ।