बाहिरियो डरलाग्दो रहस्य : प्रचण्ड द्वारा वैधानिक बुथ कब्जा गरेरै भए पनि भरतपुरमा छोरीलाई जिताउन निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचन आचारसंहिता उल्लंघन गर्दै आज छोरी रेणु दाहालको निर्वाचन प्रचारका लागि चितवनको भरतपुर जाँदै हुनुहुन्छ ।
निर्वाचन प्रचारको अन्तिम दिन सरकारी स्रोत र साधन दुरुपयोग गरी सरकारी आश्वासन बाँडेर छोरीका लागि भोट माग्न प्रधानमन्त्री भरतपुर जान लागे पनि निर्वाचन आयोगले भने थाहा नपाएझैं गरिरहेको छ ।काठमाडौंबाट संसद् सदस्यको निर्वाचनमा पराजित भएकी छोरी रेणुलाई भरतपुर महानगरपालिकाको प्रमुख पदमा विजयी बनाउन विभिन्न हतकण्डा अपनाइरहेका प्रचण्डले काँग्रेससँग चुनावी तालमेलका साथै निर्वाचनमा प्रभाव पार्न चितवन केन्द्रित भएर व्यापक सरकारी बजेट रकमान्तर गराउनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय प्रहरी प्रशासनलाई बढुवाका साथै राम्रो अवसर उपलब्ध गराउने लगायतका विभिन्न प्रलोभन दिँदै वैधानिक बुथ कब्जा गरेरै भए पनि छोरी जिताउन निर्देशन दिएको बुझिएको छ ।सरकारका मन्त्रीहरुले गरिरहेको आचार संहिता उल्लंघन, सत्ता गठबन्धन दलका कार्यकर्ताले विपक्षीलाई आक्रमण गर्ने र ज्यानसमेत लिने घटना हुँदासमेत निर्वाचन आयोग मौन रहनुले निर्वाचन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण हुने कुरामा आशंका जन्मिएको प्रतिक्रिया पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनुभएको छ । स्थानीय निर्वाचन मतदानको एकसाता पनि बाँकी नरहेको अवस्थामा सरकार विस्तार गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षक नियुक्तिका लागि सिफारिस पनि गरिएको छ ।लामो समय रिक्त रहेका र निर्वाचन सम्पन्न भएपछि गर्दा पनि खासै फरक नपर्ने पदहरूमा नियुक्ति सिफारिस गर्नु सरासर निर्वाचन प्रभावित गर्ने योजना अन्तर्गतको काम हो ।त्यस्तै, सरकारले ‘फास्टट्रयाक’ बनाउने काम नेपाली सेनालाई दिने, चीनको ‘वान बेल्ट वान रोड’ परियोजनामा नेपालले हस्ताक्षर गर्ने, विभिन्न घटनामा मारिएकाहरूलाई शहीद घोषणा गर्ने, अस्थायी कर्मचारीलाई दशैंखर्च दिनेलगायतका लोकप्रियता कसरी हासिल गर्न सकिन्छ भन्ने ढङ्गले निर्णय गरेर आचारसंहिता उल्लंघन गरिरहेको छ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारी रहेको निर्वाचन आयोग र सरकारले आफ्नो दायित्व बिर्सेर आचारसंहितालाई बेवास्ता गरिरहेका समाचार प्राप्त भइरहेका छन् ।स्थानीय तह निर्वाचन आचारसंहिता पालनामा सबैभन्दा बढी ध्यान दिनुपर्ने सरकार र मन्त्रीहरू एकपछि अर्को गरी निर्वाचन प्रभावित गर्ने गतिविधिमा संलग्न छन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगलाई पटक पटक ध्यानाकर्षण गराए पनि नियन्त्रण गर्ने कुरामा प्रभावकारिता देखिएको छैन ।नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले आचार संहिता उल्लंघनका घटनाप्रतिको मौनताले निर्वाचन आयोग शङ्काको घेरामा रहेको प्रतिक्रिया दिनुभएको छ ।
आचारसंहिता उल्लंघन र निर्वाचन आयोगको मौनताका सन्दर्भमा राखिएको जिज्ञासामा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो– “प्रधानमन्त्री प्रचण्डलगायतका मन्त्रीहरू आज पनि विभिन्न ठाउँमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुने सूचना आएका छन्, नेकपा एमाले यसप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँछ र कडा कारबाहीका लागि अनुरोध गर्दछ ।”निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मन्त्रिपरिषद्ले विभिन्न पदमा नियुक्तिका साथै विभिन्न योजना तथा कार्यक्रम ल्याउनुका साथै मतदाता प्रभावित गर्ने निर्णय गर्दै आए पनि निर्वाचन आयोगले सरकार र मन्त्रीहरूलाई कारबाही त कता हो कता ध्यानाकर्षणसमेत गराएको छैन ।
यसरी आचारसंहिता बेवास्ता गरी चुनावी गतिविधिमा लाग्ने र सरकारी साधन स्रोत दुरुपयोग गरी मतदाता प्रभावित गर्ने मन्त्रीहरूमा वनमन्त्री शङ्कर भण्डारी, स्वास्थ्यमन्त्री गगन थापा, शहरी विकासमन्त्री अर्जुननरसिंह केसी, सहकारीमन्त्री हृदयराम थानी र उद्योगमन्त्री नवीन्द्रराज जोशी अग्रस्थानमा हुनुहुन्छ । वनमन्त्री शङ्कर भण्डारी गत सोमबार गृहजिल्ला तनहुँको भानु नगरपालिकाको भन्सारमा चुनावी सभामा सहभागी हुनुभएको छ । झण्डावाल सरकारी गाडीमा गएका भण्डारीे डुम्रेमा गाडी राखेर कार्यक्रमस्थल जानुभएको र त्यहाँ विभिन्न प्रयोजनका नाममा पैसा बाँडेपछि स्थानीयकोे चर्को विरोध हुँदा त्यहाँबाट हिंड्नुभएको थियो ।
त्यसै गरी, स्थास्थ्यमन्त्री गगन थापाले पनि मतदातालाई प्रभाव पार्र्ने उद्देश्यले ठाउँ ठाउँमा विभिन्न कार्यक्रम घोषणा गर्दै हिंड्नुभएको छ । थापाले काठमाडौंको कपनमा बाल–उद्धार उच्च माविमा कार्यक्रम गर्नुका साथै बूढानीलकण्ठमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी भोट माग्दै हिड्नुभएको छ । स्वास्थ्यमन्त्री थापाले स्वास्थ्य मन्त्रालयको कार्यक्रममा आफ्नो तस्बिर राखेर विज्ञापन प्रचार प्रसार गरिरहनु भएको छ भने क्यान्सर अस्पताल भरतपुरमा विभिन्न नियुक्ति गरिएको छ । त्यस्तै, काठमाडौं महानगरपालिकामा दाजुलाई उम्मेदवार बनाइएपछि उद्योगमन्त्री नवीन्द्रराज जोशी सरकारी झण्डावाल गाडी चढेर दिनहुँ चुनावी कार्यक्रममा जाने गरे पनि निर्वाचन आयोगले त्यस्ता गतिविधि नियन्त्रण गर्न सकिरहेको छैन ।उद्योगमन्त्री जोशीले साँझ–साँझ विभिन्न समूह र झुण्डसँग भेटघाट गर्ने गरेबाट निर्वाचन प्रभावित गर्ने योजनामा संलग्न भएको बुझ्न सकिन्छ ।
सहकारीमन्त्री हृदयराम थानी पनि सुर्खेतका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ । मन्त्री थानीले पनि गडीलगायतका गाउँमा मानिस भेटेर टोलटोलमा आश्वासन बाँड्ने काम गरिरहनुभएको जानकारी प्राप्त भएको छ । निर्वाचन आयोगले दलहरूका घोषणापत्र दुई रङ्गमा मात्रै छाप्नुपर्ने बताए पनि नेपाली काँग्रेसले चार रङ्ग (रंगीन) मा प्रकाशन गरेर वितरण गरिरहेको छ ।माओवादी केन्द्रका सचेतक सीता नेपालीले सर्वसम्मत निर्वाचित उम्मेदवारको सङ्ख्यामा एमाले अगाडि भए पनि निर्वाचन आयोगको हवाला दिएर माओवादी अगाडि भएको गलत तथ्याङ्क फेसबुकमा प्रस्तुत गरेको विषयमा पनि आयोगको ध्यानाकर्षण हुनसकेको छैन । केही दिनयता गोरखापत्रलगायतका सरकारी सञ्चारमाध्यमले एमालेसँग सम्बन्धित समाचारहरू ब्ल्याक आउट गरिरहेका छन् । ती सञ्चारमाध्यममा अहिले सत्तागठबन्धन सम्बद्ध दलका समाचारले मात्र प्राथमिकता पाइरहेबाट निर्वाचन निष्पक्ष सम्पन्न गर्ने कुरामा सत्तापक्ष गम्भीर नरहेको स्पष्ट हुन्छ ।