काठमाडौं – सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले जिल्लाको एउटा तहमा पनि जित हासिल गर्न सकेन। वडा तहमा पनि नेतृत्व हात पार्न नसकेपछि दैलेखमा माओवादीलाई नैतिक संकट देखिएको हो। दैलेखमा माओवादीले वडामा पनि जित हासिल गर्न नसकिरहेको अवस्थामा नेपाल मजदुर किसान पार्टी र राप्रपाले भने जिल्लामा आफ्नो अस्तित्व जोगाएका छन्। नेमकिपाले जिल्लाका दुई र राप्रपाले एउटा वडा अध्यक्ष जितेका छन्। तर, माओवादी केन्द्र भने स्थानीय तहको नेतृत्वमा शून्य हुन पुगेको छ। जिल्लाभरका ९० वटा वडामध्ये एमालेले बहुमत वडामा जितेको छ। एमालेले ५४ वटा वडामा विजय हासिल गरेको हो। यस्तै, कांग्रेसले ३३ वटा वडामा जितेको छ। युद्धकालमा स्थानीय बासिन्दासँग विग्रिएको सम्वन्धलाई माओवादीले हालसम्म पनि सुधार गर्न नसकेको प्रमाण यो स्थानीय तहको निर्वाचनले पनि दिएको छ। जनयुद्धको क्रममा ज्यादती गरेको भन्दै दैलेखीले माओवादीविरुद्ध प्रतिकार अभियान चलाएका थिए। २०६१ मंसिरमा स्थानीय महिलाहरुको नेतृत्वमा दुल्लुमा सञ्चालन भएको प्रतिकार अभियानपछि दैलेखको जनमत माओवादीविरुद्ध देखिएको थियो।
यस्तै, जिल्लाका पत्रकार डेकेन्द्र थापाको हत्याविरुद्ध पनि स्थानीय बासिन्दा माओवादीको विरोधमा खनिएका थिए। शान्ति प्रक्रियामा आएर सरकारको नेतृत्व गरिरहँदा पनि स्थानीयले माओवादीप्रतिको दृष्टिकोण बदलेका छैनन्।
यसअघि सम्पन्न दुईवटै संविधान सभाका निर्वाचनमा पनि दैलेखमा माओवादीले अपेक्षा अनुसार मत ल्याउन सकेको थिएन। माओवादीले दैलेखीसँगको सम्वन्धलाई सुधार गर्न नसकेको प्रमाणका रुपमा ब्याख्या गर्न थालिएको छ । दैलेखमा जनतासँग युद्धकालमा विग्रिएको सम्वन्ध सुधार गर्न नसकेकै कारण माओवादीले यो परिणाम भोग्नु परेको विश्लेषण स्थानीय नागरिक अगुवाहरुको छ।
मध्यपश्चिम विश्वविद्यालयको द्वन्द्व तथा शान्ति विषयका उपप्राध्यापक कमलराज लम्साल भन्नुहुन्छ,‘द्वन्द्वकालदेखि नै दैलेखमा माओवादीप्रतिको दृष्टिकोण बदलिएको छैन, दुल्लु आन्दोलन र डेकेन्द्र थापाको घटनापछि माओवादीप्रति जनतामा नराम्रो छाप परेको छ, अवसरहरु धेरै हुँदा पनि माओवादीले त्यसलाई मेट्न सकेन।’ यसले गर्दा पनि स्थानीयले माओवादीलाई भोट नै नदिने पहिलो कारण हुनसक्ने उहाँको भनाइ छ। सशस्त्र अवस्थामा हुँदा पनि आफ्नाविरुद्धमा आन्दोलन गर्ने दैलेखीसँग बिग्रिएको सम्वन्धलाई माओवादी नेतृत्वले हालसम्म पनि सुधार गर्न नसक्नु मत प्राप्त नहुने अर्को कारण भएको उहाँको विश्लेषण छ।
को हुन् डेकेन्द्र थापा ?
जतिबेला डेकेन्द्र थापा दैलेखबाट पत्रकारिता गर्दै थिए त्यतिबेला मध्यपश्चिममा पत्रकारिताले बामेसर्दै थियो । यस्तोमा बहु प्रतिभाका धनी डेकेन्द्र थापा पत्रकारितामा होमिए, समाजमा जागरण पैदा गर्न । यदि पत्रकार नभएको भए उनी राम्रो गायकमा स्थापित हुने रहेछन् भन्ने पनि तपसिलको भिडियोबाट आँकलन गर्न सकिन्छ ।
तर नियतिको खेल यस्ता प्रतिभाका धनीलाई तत्कालीन सशस्त्र विद्रोही माओवादीले सहन सकेन र क्रुरतापूर्वक हत्या गर्यो । आफूले गल्ती नगरेपछि कसैसंग पनि डराउनु पर्दैन भन्ने मान्यता राख्ने डेकेन्द्रको त्यो मान्यता त्यतिबेला झूठो सावित भयो जतिबेला उनलाई क्रुरतापूर्वक यातना दिइयो र जिउँदै गाडेर हत्या गरियो । यो विवरण हत्यामा संलग्न लक्ष्मीराम घर्ती मगरले प्रहरीसामु खोतलेका हुन् ।
सशस्त्र द्वन्द्वको चर्को मार खेपिरहेको मध्यपश्चिमका पत्रकारहरु असुरक्षित महसुस गरिरहेका बेला निर्भिक किसिमले कलम चलाउँदै आएका डेकेन्द्र सो क्षेत्रको लोकप्रिय भाका ’देउडा’का राम्रा गायक समेत हुन् । शान्त र प्रकृतिसंग रमाउन चाहने पत्रकार थापा आफ्नो थात थलोको विकासमा कति चिन्तित रहेछन् भने उनले गाएको देउडाले नै देखाएको छ । उनी विकासप्रेमी, प्रकृतिप्रेमी र आशावादी मानिस थिए ।
के हो बाँदरमुढे घटना ?
चितवनको माडीमा बांदरमुढे घटना भएको करिब १२ वर्र्ष पुरा भएको छ । १२ बर्ष अगाडी २०६२ साल जेठ २३ गते चितवन माडीको बांदरमुढे खोलामा यात्रुवाहक बस धरापमा पार्दा ३८ जनाको ज्यान जानुका साथै ७२ जना घाइते भएका थिए । घटनाको केही समयपछि घाइते हुनेमध्येका तीन जनाको मृत्यु हुँदा घटनाको कारण मृत्यु हुनेको संख्या अहिले ४१ पुगिसकेको थियो । चितवनको माडी स्थित कल्याणपुर गाविसमा पर्ने बांदरमुढे खोलामा तत्कालिन विद्रोही नेकपा माओवादीले थापेको एम्बुसमा परि ३८ जनाले ज्यान गुमाएका थिए । माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बांदरमुढे खोलामा विद्युतीय धरापमा पर्दा ३८ जनाको ज्यान गएको थियो भने ७२ जना घाइते भएका थिए ।
घटना भएको वर्र्षै बितिसक्दा पनि आफुहरुले उचित राहत र न्याय नपाएको पीडितहरुले गुनासो गर्दै आएका छन् । पिडितको घाउंमा मलम लगाउन भन्दै एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६० लाख रुपैया राहतको घोषणा गरे पनि पिडितहरुले मानविय संबेदनालाई पैसासंग जोडेको भन्दै प्रचण्डले घोषणा गरेको ६० लाख राहतको प्याकेज बहिष्कार समेत गरेका थिए । माओवादीले घटाएको उक्त घटनाको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चर्को रुपमा विरोध भएको थियो । माओवादी पार्टीले समेत एक विज्ञप्तिमार्फत युद्धको नियमविरुद्धको घटना भनी माफी मागेको थियो । यद्यपी, घटना घटाउने कुनै कार्यकर्तालाई पार्टीले कारबाही भने गरेको छैन ।
माडीको बगाईबाट भरतपुरसम्म आउनका लागि यात्रा गर्नेहरु प्रायः सर्वसाधारण्ँ नै थिए । घटनाका कतिपय घाइतेहरु अहिले पनि वैशाखीको सहारा लिन बाध्य छन् । बा“दरमुढे घटनालाई वर्षैसम्म जीवन्त बनाई राख्नमा स्वयं माओवादीका नेता तथा कार्यकर्ताका बोली–व्यवहार नै जिम्मेवार छन् । बाँदरमुढे घटना योजनाबद्ध रुपमा विद्युुतीय धराप थापेर घटाइएको हो । बसको छतभरि बर्दीधारीको ठाउँमा सर्वसाधारण आएको देख्दादेख्दै पनि धरापलाई विस्फोट गराउने कार्यकर्तालाई सार्वजनिक अनि कारबाही नगरेसम्म माओवादी यो घटनाको विरुद्धमा छ भन्ने कुराको पुष्टि हुन सक्दैन । माओवादी नेताहरु भाषण मात्रै गर्छन्, व्यवहारतः पीडितहरुलाई राहत मिल्ने कुनै कार्यक्रम ल्याउन सकेका छैनन् । बाँदरमुढे घटना पहिलेदेखि नै माओवादी नेता तथा कार्यकर्ताको टाउको दुखाइको विषय न्दै आइरहेको छ र टाउको दुखाइको विषय बनिरहने छ । घटनाको पीडालाई कम गर्नतिरभन्दा पनि आफ्नो तरिकाबाट व्याख्या गर्ने काम मात्र भएको छ अहिलेसम्म ।
प्रचण्डले अहिलेसम्म पनि बाँदरमुढे घटनाका पीडितसँग छलफल वा भेटघाट गरेका छैनन् । माओवादीले २०५२ सालमा जनयुद्धको शुरुवात गर्दा शोषित–पीडित र गरिब जनताको पक्षमा लड्ने बताएको थियो । तर, १० वर्र्षे जनयुद्मा मर्ने सबैजसो शोषित–पीडित र गरिब जनता नै भए । भएका सबै संरचनालाई ध्वंस बनाएर मात्र क्रान्ति सफल पार्न सकिन्छ भनेर लागेको माओवादीले धेरै घरपरिवारको बिचल्ली बनाइदियो, जनयुद्धको १० वर्र्षमा ।सहयोग र राहातका अनेक आस्वासन पाएपनि बास्तवमा न्याय पाउन नसकेको पिडितहरुको गुनासो छ ।