काठमाडौँ, २३ असार | नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै पार्टीको कडा टिप्पणी गरेका छन | पार्टीको आन्तरिक लापरवाहीले दुबै चरणका स्थानीय निर्वाचनमा हार ब्यहोर्नु परेको उल्लेख गर्दै यसरी नै जाने हो भने तेस्रो चरणमा पनि कांग्रेसले चुनाव हार्ने बताएका छन्।
दुवै चरणमा बेहोरेको हार संगै थापाले महासमिति बैठक बोलाएर हारको समीक्षा गर्नुपर्ने माग समेत अघि सारेका छन्। नेता थापाले दुबै चरणका चुनावमा कांग्रेस दोस्रो स्थानमा आउनुका पछाडि प्रतिष्पर्धी बलियो हुनुभन्दा पनि तयारी नै नगरी कांग्रेस चुनावमा जानु कारण रहेको बताए। थापाका अनुसार यसपालिको चुनावमा प्रदेश नम्बर एक र पाँचमा एमालेसँग बराबर हुने र सात नम्बरमा अगाडि आउने कांग्रेसको आँकलन थियो। तर मतपरिणाम कांग्रेसको आँकलनभन्दा फरक आयो। बरु एक र पाँच नम्बर प्रदेशमा एमालेले कांग्रेसलाई पछाडि पार्यो भने सात नम्बर प्रदेशमा पनि टक्कर दिन आइपुग्यो। जुन नेपाली कांग्रेसको लागी अकल्पनीय थियो |
संविधान सभामा पहिलो पार्टी बनेको कांग्रेस दुबै चरणको स्थानीय निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिनुका पछाडि मुख्य चार कारण रहेको थापा बताउँछन्।
पहिलो,लोकमानसिंह कार्कीको महाअभियोबारे पार्टी मौन बस्नु, प्रहरी प्रमुखको नियुक्ति र त्यसपछि प्रधानन्यायाधीशमाथि महा अभियोग लगाउनुमा कांग्रेसको भूमिका। ‘राष्ट्रिय राजनीतिमा भएका यी घटनाले पहिलो चरणमा हामी एकदमै रक्षात्मक थियौं, हामीसँग जनताले सोध्ने धेरै प्रश्नका उत्तर नै थिएनन्’, थापाले भने।
दोस्रो कारण सांगठनिक गतिविधि हो।
‘संविधान सभा चुनावपछि बरु अलिकति कार्यक्रम भएका रहेछन्, तर पछिल्ला दुई वर्ष कांग्रेसले कार्यक्रम भेला, प्रशिक्षण, सभा केही पनि गरेको रहेनछ’, नेता थापाले भने, ‘चुनावमा नेताले टिकट दिए, अरू तयारी नगरी हामी भाषण गर्न गयौं र यो नतिजा आयो।’
तेस्रो, टिकट वितरणमा भएको कमजोरी। थापाले हचुवाका भरमा टिकट बाँडिएकाले पनि धेरै ठाउँमा पार्टीका उम्मेदवार हार ब्यहोर्नु परेको बताए। ‘संसदीय चुनावमा धेरे आकांक्षी हुन्नन, भएकाको केही चित्त बुझाउ सकिन्छ,’ थापाले भने, ‘स्थानीय चुनावमा त वडा सदस्यदेखि मेयरसम्म धेरैले दाबी गर्छन्। यसमा फेरि जातियता, भौगोलिकतालगायतका कुराको पनि तालमेल मिल्नुपर्छ। तर कांग्रेसले त्यसरी टिकट बाँडेन।’
थापाले कांग्रेसले उम्मेदवारमात्र गलत नछानेको प्रक्रिया नै गलत अपनाएको बताए। ‘पार्टीले जसलाई उम्मेदवार छान्न अधिकार दिएर पठाएको थियो उनीहरु नै मेयर र प्रमुखको उम्मेदवार बने’, थापाले भने, ‘कसले, कसरी टिकट पायो कसैलाई थाहा भएन।’
चौथो कारण हो, अन्तरघात। टिकटमा चित्त नबुझेकाहरू कांग्रेसलाई होइन, अर्कैलाई जिताउन लागि परे। ‘अझ राष्ट्रिय राजनीतिमा स्थापित नेताहरुले सांगठनिक रुपमा नै अन्तरघात गरे’, थापाले भने, ‘यति धेरै नेपाली कांग्रेसका कार्यकर्ताले अरुलाई भोट हालेको यो पहिलो पटक हो।’
पार्टीले आन्तरिक व्यवस्थापन गरेर चुनावमा गएको भए कम्तिमा २० ठाउँ बढी जित्ने थापाको दाबी छ। ‘एकातिर पार्टीभित्र किचलो अर्कातिर मेयर उम्मेदवारले के भाषण गर्ने भन्ने पनि थाहा छैन,’ थापाले भने, ‘न पार्टीको नीति छ न त कार्यक्रम र योजना। कति ठाउँमा वृद्ध भत्ताका विषयमा हामीले जवाफ दिन सकेनौं।’
पहिलो र दोस्रो चरणको चुनावमा कांग्रेसले २०७० को संविधान सभा निर्वाचनमा वर्चश्व कायम गरेका नौ जिल्लामा नराम्रो पराजय भोगेको छ।
संविधान सभामा कांग्रेसले एकलौटी जितेका कञ्चनपुर र दाङसहित काठमाडौं, रुपन्देही, स्याङ्जा, बाग्लुङ, गुल्मी र उदयपुरमा एमाले पहिलो पार्टी बनेको छ। सोलुखुम्बु पनि कांग्रेसले अफ्नो अधार क्षेत्र जोगाउन सकेको छैन।
उनले पहिलो चरणको चुनावको नतिजा आएपछि पनि पार्टीले ब्यहोरेका हारका बारेमा कुनै छलफल नभएको र यो क्रम दोस्रो चरणमा पनि दोहोरिए तेस्रो चरणको चुनावमा पनि यही हालत हुने बताए। ‘अब असोज २ गतेको चुनावलाई ध्यानमा राखेर महासमिति बैठक बोलाएर समीक्षा गरेर अगाडि बढ्न्पर्छ’, थापाले भने, ‘प्रदेश नम्बर २को चुनावमा हामीले जे रणनीति अपनाउँछौं त्यसले प्रदेश र संघीय चुनावमा पनि सजिलो हुन्छ।’
थापाले अहिले कांग्रेसको राजनीति सही बाटोमा भएपनि केही प्राविधिक कुरा मात्र गलत बाटोमा भएकाले यसलाई सुधार्न सकिने बताए। ‘दुबै चरणका हारबाट सिकेर नयाँ उर्जाका साथ तेस्रो चरणमा चुनावमा जानुको विकल्प छैन’, थापाले भने। यता पार्टी सभापति शेर बहादुर देउबा पनि साझा सवाल कार्यक्रम पछी निक्कै आलोचित बन्दै आइ रहेका छन | – सेतोपाटीबाट