रुपन्देही । अन्ततः सत्ता साझेदार दलहरु नेपाली कांग्रेस,माओवादी केन्द्र र राष्ट्रिय जनमुक्ति पार्टीको घेराबन्दीलाई तोड्दै बुटवल उपमहानगरपालिमा एमालेको सानदार विजय निश्चित भएको छ । यहाँ प्रमुख, उपप्रमुखसहित १७ वडामा सबै प्यानलसहित एमालेले जितेको छ । बाँकी २ वडा अध्यक्ष मात्र काँग्रेसले जितेको छ । नेकपा (एमाले)का तर्फबाट मेयरमा शिवराज सुवेदी बिजयी हुनुभएको छ । उपमेयरमा एमालेका तर्फबाट गोमा (गुमादेवी) आचार्य भारी मत ल्याएर बिजयी हुनुभयो ।
सो को अन्तिम घोषणाको तयारी भईरहेकोछ । काँग्रेस माओवादी केन्द्र गठबन्धनका तर्फबाट काँग्रेसले खेलराज पाण्डेलाई मेयरको उम्मेदवार वनाएको थियो । गठबन्धनले माओवादी केन्द्रका जगतबहादुर पोखरेलाई उपमेयरको उम्मेदवार बनाएको थियो । अहिले अन्तिम वडा १९ नम्बरका केही मतको गणनाका भईरहे पनि ती मतहरुले अब निर्वाचन परिणाममा कुनै अर्थ राख्नेछैन् । किनभने ती सबै जोड्दा पनि गठबन्धन धेरै पछि छ ।
नगरमा काँग्रेसले प्रमुख उपप्रमुख पदमा माओवादी केन्द्रसित तालमेल गरेको थियो भने वडामा राष्ट्रिय जनमुक्तिसित तालमेल गरेको थियो ।
बुटवलमा ४९ हजार ८ सय ९५ मत खसेको थियो । यहाँ ६६ हजार ६ सय ६३ मतदाता थिए ।
बुटवलमा ०५१ सालदेखि यताका हरेक खालका चुनाबहरु एमालेले सानदार रुपमा जित्दै आएको छ । एमालेको किल्ला तोड्ने भन्दै तीन दल मोर्चाबन्दीमा उत्रिए पनि स्थानीय विकास र प्रदेश बिभाजन बिरुद्ध खेलेको भूमिकाका कारण मतदाताहरुले एमालेलाई नै रोजे ।