रुपन्देही । नवलपरासीस्थित शिवराज नगरपालिकाभरी यदी कसैको बढी चर्चा भयो भने त्यो शिवकुमारी थारु हुन् । स्थानीय थारु समुदायमा हुर्केकी २३ बर्षे शिवकुमारी उपमेयर पदमा विजयी भएपछि प्रदेशभरी नै उनको चर्चा छ ।
सामान्य परिवारबाट उठेकी शिवकुमारीले १७ बर्षको उमेरमै विहे गरेर पनि राजनीतिमा देखाएको नेतृत्वदायी भुमिकाको चर्चा भएको हो । त्यसो त सामाजिक कार्यकर्ता, शिक्षिका हुँदै सक्रिय राजनीतिक नेत्रीको रुपमा उनले आफूलाई विकास गरेकी हुन् ।
हालै सम्पन्न चुनावको बेला शिवकुमारीले एउटा भाषण गरेकी थिइन् । त्यही भाषणले पनि उनलाई आम स्थानीय जनतामाझ चिनायो । छोटो भाषणकै बीच स्थानीय मतदाताले उनलाई ‘नोटिस’ गरिसकेका थिए ।
त्यसक्रममा उनले परिपक्व राजनीतिज्ञ झैँ आमसभालाई निर्धक्क भएर सम्बोधन गरेकी थिइन् । उनको भाषणकै कारण पनि थुप्रै मतदाता प्रभावित भएको अहिले विश्वास गरिएको छ । उपमेयर जस्तो गहन जिम्मेवारी पाएपछि शिवकुमारीले जनताको काम गर्ने जिम्मा पाएको भन्दै भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
त्यसो त, केही बर्षयता राजनीतिमा सक्रिय रहे पनि शिवकुमारी उपमेयरको पद पाइएला भन्ने नलागेको बताउँछिन् । तर मधेसमा एमालेको तिक्तता बढेपछि नै उनलाई उठाउने निर्णय भएको थियो । शिवकुमारीले पनि पार्टीको त्यो जिम्मेवारी वहन गरिन् ।
यद्यपी, चुनावपछि पनि स्थानीय मतदाताहरुमाझ शिवकुमारीको चुनावअघिको त्यो छोटो भाषणको अझै चर्चा भइरहन्छ । जिल्लाका चोक, चियापसलमा अहिले पनि उनको त्यही भाषणको प्रशंसा जारी छ ।
त्यसबेला नै शिवकुमारीको भाषणलाई ‘एक सुन्दर युवतिको बोल्ड भाषण’, ‘२३ बर्षे युवतिको दमदार भाषण’ जस्ता कुराले प्रशंसा भइरहन्थ्यो । यतिसम्म की, शिवकुमारीको त्यो ७ मिनेटको भाषणलाई देश र विदेशमा समेत सामाजिक संजालमा ‘भाइरल’ बनाइएको थियो ।
भिडियाे :